Enrolment options

सार्वजनिक रोजगार सेवा

पाठ्यक्रम मार्गदर्शन: नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवा प्रवाह

स्व-अध्ययन | स्व-निर्देशित

पाठ्यक्रम कोड   भाषा
PES001     नेपाली

📖 स्वागतम्

नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवा प्रवाह (Delivering Effective Public Employment Services in Nepal - DEPES-N) सम्बन्धी तालिम कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को नेपालमा रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण परियोजना (Strengthening of Employment Service Centres in Nepal - SESC) अन्तर्गत विकास गरिएको यो स्व-अध्ययन (Self-paced) पाठ्यक्रमले रोजगार, सीप तथा उद्यमशीलता केन्द्र/रोजगार सेवा केन्द्र (Employment Service Centre--ESC) मा कार्यरत रोजगार परामर्शकर्ता तथा अन्य कर्मचारीहरूको ज्ञान र व्यवहारिक सीप अभिवृद्धि गरी गुणस्तरीय सार्वजनिक रोजगार सेवा प्रवाह गर्न आवश्यक क्षमता विकास गर्ने उद्देश्य राखेको छ।

यस कार्यक्रमले रोजगार सेवा केन्द्रका मूलभूत कार्यहरूबारे परिचय गराउनुका साथै रोजगार खोज्ने व्यक्तिहरू तथा रोजगारदाताहरूलाई उनीहरूको सम्पूर्ण रोजगार यात्राभर प्रभावकारी सहयोग पुर्‍याउने व्यवहारिक विधिहरू प्रस्तुत गर्दछ। अन्तर्राष्ट्रिय असल अभ्यास तथा नेपालको सन्दर्भलाई आधार मानी तयार गरिएको यस तालिम कार्यक्रमको उद्देश्य रोजगार सेवासम्बन्धी व्यावसायिक अभ्यासलाई सुदृढ बनाउँदै अझ प्रभावकारी, समावेशी र सेवाग्राही-केन्द्रित रोजगार सेवा प्रवर्द्धन गर्नु हो।

मुख्य विशेषताहरू

लचकता

आफ्नो गतिमा अध्ययन गर्नुहोस् र आवश्यक पर्दा पुनःअध्ययन गर्नुहोस्।

सान्दर्भिकता

अन्तरक्रियात्मक सामग्री, व्यवहारिक उदाहरण तथा कार्यस्थलसँग सम्बन्धित अभ्यासमार्फत सिक्नुहोस्।

व्यावसायिक
विकास

गुणस्तरीय रोजगार सेवा प्रवाहका लागि आवश्यक ज्ञान र व्यवहारिक सीप विकास गर्नुहोस्।

प्रमाणपत्र

तालिमको अन्त्यमा आफ्नो डिजिटल प्रमाणपत्र डाउनलोड गर्नुहोस्।

👤 यो तालिम कार्यक्रम कसका लागि हो?

यो तालिम कार्यक्रम सबै स्थानीय तहमा कार्यरत रोजगार, सीप तथा उद्यमशीलता केन्द्र/रोजगार सेवा केन्द्र मा कार्यरत रोजगार संयोजक, रोजगार परामर्शकर्ता तथा अन्य अग्रपंक्तिमा रहेर सेवा प्रवाह गर्ने कर्मचारीहरूका लागि तयार गरिएको हो।

विशेष गरी देहायका पेशामा संलग्न पेशाकर्मीहरूका लागि यो तालिम कार्यक्रम उपयोगी हुनेछः

  • रोजगार खोज्ने व्यक्तिहरू तथा रोजगारदाताहरूको दर्ता गरी आवश्यक सहयोग प्रदान गर्ने;
  • रोजगार परामर्श तथा पेशागत मार्गदर्शन सेवा प्रदान गर्ने;
  • रोजगारीको मूल्याङ्कन, प्रोफाइलिङ तथा जव म्याचिङ्ग (Job Matching) गर्ने;
  • रोजगारदाताहरूसँग सहकार्य गरी कर्मचारी भर्ना प्रक्रियामा सहजीकरण गर्ने तथा रोजगारीका अवसरहरूको प्रवर्द्धन गर्ने;
  • सेवाग्राहीहरूलाई तालिम प्रदायक संस्था तथा अन्य सहयोगी सेवाहरूमा सिफारिस गर्ने; वा
  • स्थानीय तहमा सार्वजनिक रोजगार सेवा प्रवाहमा योगदान पुर्‍याउने।

यो तालिम कार्यक्रम नयाँ नियुक्त भएका तथा अनुभवी दुवै प्रकारका रोजगार सेवा केन्द्रका कर्मचारीहरूका लागि उपयुक्त रहेको छ।

🎯 तपाईंले के सिक्नुहुनेछ?

यो तालिम सम्पन्न गरेपछि तपाईंले देहायका ज्ञान तथा सीपहरू हासिल गर्न सक्नुहुनेछः

  1. नेपालको सार्वजनिक रोजगार सेवा प्रणालीभित्र रोजगार सेवा केन्द्र को भूमिका बुझ्न।
  2. रोजगार खोज्ने व्यक्तिहरू तथा रोजगारदाताहरूसँग कार्य गर्दा नैतिक तथा व्यावसायिक सिद्धान्तहरू अवलम्बन गर्न।
  3. रोजगार परामर्श तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन श्रम बजार सूचना (Labour Market Information) को प्रयोग गर्न।
  4. प्रभावकारी रूपमा रोजगार परामर्श, मूल्याङ्कन तथा प्रोफाइलिङ गर्न।
  5. रोजगार खोज्ने व्यक्तिहरूका विविध समूहलाई उनीहरूको आवश्यकता अनुरूपको रोजगार सेवा प्रदान गर्न।
  6. जव म्याचिङ्ग (Job Matching), सिफारिस तथा रोजगारदाता संलग्नतामार्फत रोजगार खोज्ने व्यक्तिहरू र रोजगारदाताहरूलाई सहयोग गर्न।
  7. सार्वजनिक रोजगार सेवालाई थप प्रभावकारी बनाउन डिजिटल उपकरणहरूको प्रयोग गर्न।
  8. कार्यसम्पादन अनुगमन, सेवाको गुणस्तर अभिवृद्धि तथा निरन्तर सुधार प्रक्रियामा योगदान पुर्‍याउन।

📚 पाठ्यक्रमको संरचना

यस तालिम कार्यक्रममा १२ वटा स्व-अध्ययन (Self-paced) मोड्युलहरू समावेश छन्। यी मोड्युलहरूले क्रमिक रूपमा प्रभावकारी सार्वजनिक रोजगार सेवा प्रवाहका लागि आवश्यक ज्ञान र व्यवहारिक सीप विकास गर्ने उद्देश्य राखेका छन्। कार्यक्रमले नेपालको सार्वजनिक रोजगार सेवा प्रणालीको आधारभूत अवधारणाबाट सुरु भई सेवाग्राहीलाई सहयोग गर्ने विधि, रोजगारदातासँग सहकार्य गर्ने उपाय, डिजिटल उपकरणहरूको प्रयोग तथा सेवा गुणस्तर अभिवृद्धिसम्मका विषयहरू समेटेको छ। सम्पूर्ण कार्यक्रम अध्ययन गर्न करिब २५ घण्टा समय लाग्ने अनुमान गरिएको छ।

अध्ययनलाई प्रभावकारी बनाउन सबै मोड्युलहरू क्रमशः अध्ययन गर्नु उपयुक्त हुनेछ।

🧭 अध्ययन गर्ने तरिका

प्रत्येक मोड्युलको सिकाइ संरचना समान प्रकारको छ र सक्रिय सिकाइलाई प्रवर्द्धन गर्ने विभिन्न गतिविधिहरू समावेश गरिएको छ।

यस तालिम कार्यक्रम अवधिभर तपाईंले देहायका सामग्री तथा क्रियाकलापहरु पाउनुहुनेछः

  • प्रत्येक मोड्युलको उद्देश्य स्पष्ट गर्ने परिचयात्मक सामग्री;
  • सिकाइपश्चात् हासिल हुने उपलब्धि स्पष्ट गर्ने सिकाइ उद्देश्यहरू;
  • मुख्य अवधारणा तथा व्यवहारिक उदाहरणहरू प्रस्तुत गर्ने अन्तरक्रियात्मक सामग्री;
  • सिकेका विषयहरूलाई आफ्नो कार्य अनुभवसँग जोड्न प्रेरित गर्ने प्रश्नहरू;
  • म्याचिङ्ग गर्ने अभ्यास (Matching Exercises), क्लिक गरेर जानकारी खुल्ने (Click-and-Reveal) गतिविधि, वर्गीकरण (Sorting) अभ्यास तथा प्रक्रिया चित्र (Process Diagrams) लगायतका अन्तरक्रियात्मक गतिविधिहरू;
  • रोजगार परामर्शकर्ताले कार्यसम्पादनका क्रममा प्रायः सामना गर्ने अवस्थाहरूमा आधारित व्यवहारिक उदाहरणहरू; तथा
  • सिकेका विषयहरूको पुनरावलोकन र सुदृढीकरण गर्न सहयोग गर्ने ज्ञान परीक्षण (Knowledge Checks)।

तपाईंले आफ्नो सुविधा अनुसार यो पाठ्यक्रम अध्ययन गर्न सक्नुहुन्छ तथा आवश्यक पर्दा जुनसुकै मोड्युल पुनः अध्ययन गर्न सक्नुहुन्छ।

📋 मोड्युलहरूको संक्षिप्त परिचय

मोड्युल सिकाइ उद्देश्य
१. श्रम बजार सम्बद्ध संस्थाहरू तथा नेपालमा सार्वजनिक रोजगार सेवाको परिचय नेपालको सार्वजनिक रोजगार सेवा सम्बन्धी संस्थागत तथा नीतिगत संरचनाका साथै समग्र रोजगार प्रणालीभित्र रोजगार, सीप तथा उद्यमशीलता केन्द्र/रोजगार सेवा केन्द्रको भूमिका बुझ्ने।
२. रोजगार परामर्शकर्ताको भूमिका तथा व्यावसायिक आचारसंहिता गुणस्तरीय सार्वजनिक रोजगार सेवा प्रवाहका लागि आवश्यक जिम्मेवारी, नैतिक सिद्धान्त तथा व्यावसायिक आचरणबारे जानकारी हासिल गर्ने।
३. श्रम बजार तथा सेवाको आवश्यकता मूल्याङ्कन सेवाग्राहीको मूल्याङ्कन, रोजगार परामर्श तथा प्रमाणमा आधारित सेवा प्रवाहलाई श्रम बजार सूचनाले कसरी सहयोग गर्छ भन्ने विषयमा सिक्ने।
४. सेवाग्राही-केन्द्रित परामर्श प्रविधिहरू सेवाग्राहीको आवश्यकता पहिचान गर्न, विश्वासपूर्ण सम्बन्ध (Rapport) निर्माण गर्न तथा सूचित रोजगारसम्बन्धी निर्णयमा सहयोग पुर्‍याउन आवश्यक सञ्चार तथा परामर्श सीप विकास गर्ने।
५. रोजगार खोज्ने व्यक्तिहरूको प्रोफाइलिङ तथा आवश्यकता मूल्याङ्कन मूल्याङ्कन, प्रोफाइलिङ तथा व्यक्तिगत रोजगार योजना (Individual Employment Plan) ले व्यक्तिगत आवश्यकतामा आधारित रोजगार सेवा र प्रभावकारी केस व्यवस्थापनमा कसरी सहयोग पुर्‍याउँछन् भन्ने बुझ्ने।
६. पेशागत मार्गदर्शन तथा रोजगारी योग्य क्षमता (Employability) को प्रवर्द्धन रोजगार परामर्शकर्ताले रोजगार खोज्ने व्यक्तिहरूलाई पेशागत विकासको सम्पूर्ण प्रक्रियामा कसरी सहयोग पुर्‍याउँछन् भन्ने विषयमा अध्ययन गर्ने।
७. जोखिममा रहेका समूहसँग कार्य गर्ने तरिका रोजगारी प्राप्तिमा रहेका अवरोधहरू पहिचान गर्न तथा समावेशी र व्यक्तिगत आवश्यकतामा आधारित सेवामार्फत जोखिममा रहेका सेवाग्राहीलाई प्रभावकारी सहयोग गर्ने उपायहरू सिक्ने।
८. जव म्याचिङ्ग तथा रोजगारदाता संलग्नता रोजगार खोज्ने व्यक्तिहरू र रोजगारदाताहरू दुवैको आवश्यकता अनुरूप जव म्याचिङ्ग, रोजगारदाता सेवा तथा रोजगार मध्यस्थता सम्बन्धी व्यवहारिक विधिहरू विकास गर्ने।
९. केस व्यवस्थापन योजना निर्माण, अनुगमन तथा केस व्यवस्थापन मार्फत समन्वयात्मक र सेवाग्राही-केन्द्रित रोजगार सेवा प्रवाहमा केस व्यवस्थापनले कसरी सहयोग पुर्‍याउँछ भन्ने विषयमा अध्ययन गर्ने।
१०. सिफारिस प्रणाली तथा साझेदारी साझेदार संस्थाहरूसँगको समन्वय तथा सिफारिस प्रणालीले रोजगारसम्बन्धी सहयोगी सेवाहरूमा पहुँच विस्तार र सेवा समन्वयलाई कसरी प्रभावकारी बनाउँछ भन्ने बुझ्ने।
११. सार्वजनिक रोजगार सेवामा विध्युतीय उपकरणहरूको प्रयोग डिजिटल प्रविधि तथा अनलाइन उपकरणहरूले समावेशी र सेवाग्राही-केन्द्रित सार्वजनिक रोजगार सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउँछन् भन्ने अध्ययन गर्ने।
१२. अनुगमन, प्रतिवेदन तथा सेवा गुणस्तरका मापदण्डहरू अनुगमन, प्रतिवेदन तथा कार्यसम्पादन व्यवस्थापनले निरन्तर सुधार र उत्कृष्ट रोजगार परिणाम हासिल गर्न कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा जानकारी लिने।

💡 सफल अध्ययनका लागि सुझावहरू

यस तालिम कार्यक्रमबाट अधिकतम लाभ प्राप्त गर्नका लागि देहायका सुझावहरू पालना गर्नुहोस्:

  • मोड्युलहरूलाई सिफारिस गरिएको क्रमअनुसार अध्ययन गर्नुहोस्।
  • अन्तरक्रियात्मक गतिविधि तथा आत्मचिन्तन (Reflection) सम्बन्धी अभ्यासहरूमा सक्रिय रूपमा सहभागी हुनुहोस्।
  • सिकाइका अवधारणाहरूलाई आफ्नो रोजगार सेवा केन्द्रको कार्यसम्पादनसँग कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा विचार गर्नुहोस्।
  • आवश्यक पर्दा पुनःअध्ययन (Refresher) का लागि सम्बन्धित मोड्युलहरू फेरि अध्ययन गर्नुहोस्।
  • आफूले हासिल गरेको ज्ञान र सीपलाई दैनिक कार्यसम्पादनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा निरन्तर सोच्नुहोस्।

🏁 तालिम कार्यक्रम सम्पन्न भएपछि

यो कार्यक्रम तपाईंको व्यावसायिक क्षमता विकासमा सहयोग पुर्‍याउने तथा नेपालको रोजगार, सीप तथा उद्यमशीलता केन्द्र/रोजगार सेवा केन्द्र मार्फत प्रभावकारी सार्वजनिक रोजगार सेवा प्रवाह गर्ने तपाईंको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको हो।

यस पाठ्यक्रममा समावेश गरिएका ज्ञान, अवधारणा तथा व्यवहारिक विधिहरूले रोजगार खोज्ने व्यक्तिहरू, रोजगारदाताहरू तथा स्थानीय समुदायको आवश्यकता अझ प्रभावकारी रूपमा सम्बोधन गर्ने गुणस्तरीय, समावेशी तथा उत्तरदायी सार्वजनिक रोजगार सेवा प्रदान गर्न तपाईंलाई सहयोग पुग्नेछ भन्ने हाम्रो विश्वास छ। साथै, यस कार्यक्रमबाट प्राप्त ज्ञान र सीपले नेपालको सार्वजनिक रोजगार सेवा प्रणालीको निरन्तर सुदृढीकरण तथा विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

🎥 ILO रोजगार सेवासम्बन्धी भिडियो

सार्वजनिक रोजगार सेवासम्बन्धी थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस्।

उपशीर्षक: नेपाली उपशीर्षक उपलब्ध भएमा भिडियो सुरु हुँदा नेपाली उपशीर्षक स्वतः चयन गर्न अनुरोध गरिनेछ।

Guests cannot access this course. Please log in.